पहाडै चर्किएपछि पर्वतको जलजलामा ३०० परिवार जोखिममा
पर्वत | असार २४, २०८०
तस्बिर फाइल
पर्वत, जलजला गाउँपालिका वडा नं ५ लेखफाँटको सिङ्गो गाउँ पहिराको जोखिममा परेको छ । बस्तीभन्दा माथि रहेको लोप्रेको सिङ्गो डाँडै चर्किएर लेदो बग्न थालेपछि गाउँ जोखिममा परेको हो ।
निरन्तरको वर्षासँगै पहाडबाट झरेको कमेरो माटो, ढुङ्गासहितको लेदोले खेतबारीसमेत पुरिन थालेको छ । वडा नं ५ लेखफाँटका साविकका दुई वडामा रहेका तीन सयभन्दा बढी परिवार विस्थापित हुने अवस्थामा पुगेको गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिए ।
उनका अनुसार पहाडको सबै भाग चर्किएकाले जोखिम न्यूनीकरणका लागि तत्काल कुनै कदम चाल्नुपर्छ । डाँडामुनि रहेका मूलघडेरी, गैरीगाउँ, पूर्णगाउँ र माझफाँटसम्म जोखिम रहेको उनले बताए । पर्वतको वारी बेनीसमेत उक्त पहिराको जोखिममा पर्ने देखिएको छ ।
वर्षायाम सुरु भएसँगै खेतबारीमा रोपेको धान, कोदो पहाडबाट झरेको लेदोले पुरिन थालेपछि गाउँलेहरुले स्थानीय सरकारलाई गुहारेका छन् । गाउँपालिकाका जनप्रतिनिधिसहित जिल्ला विपद व्यवस्थापन समितिको टोलीले जोखिमपूर्ण स्थलको अवलोकन गरेको छ ।
स्थानीय पदम कार्कीले पहाड नै चर्किएपछि बस्ती नै स्थानान्तरण गर्नुपर्ने अवस्था आएको बताए । ‘लगाएको खेतीबालीसमेत पूरै पुरिएको छ, कमेरे माटोमा खेती नहुने भएकाले हिउँदमा समेत खेतीबाली लगाउन नमिल्ने भइसक्यो, हामी निकै समस्यामा परेका छौँ, बस्ती छाड्ने कि संरक्षण गर्ने भन्ने अन्योल रहेको छ’, उनले भने ।
गाउँपालिकाले भने बस्तीमा ढुङ्गामाटो आउन नदिनका लागि तत्कालका लागि ड्याम बनाएर व्यस्थापन गर्ने योजना बनाएको छ । यो योजना दिर्घकालीन नहुने स्थानीयको भनाइ छ । पहाड खस्नबाट जोगाउनुभन्दा पनि मानव बस्तीलाई जोगाउनतर्फ लाग्नुपर्ने स्थानीयले अनुरोध गरेका छन् ।
भू तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख दिवाकर पौडेलले उक्त क्षेत्रको अवस्था भयावह रहेको बताए । प्राकृतिक प्रकोपलाई कसैले रोकेर रोक्न नसकिने जनाउँदै उनले कुनै पनि बेला ठूलो दुर्घटना निम्तिने अवस्था रहेको बताए । उनले पहिला मानव तथा गाईबस्तुको संरक्षणमा ध्यान दिनुपर्ने बताए ।
विसं २०७२ को भूकम्पपछि उक्त क्षेत्रमा पहिराको जोखिम बढ्दै गएको हो । तत्कालीन अवस्थामा त्यहाँका पाँच परिवार विस्थापित भएका थिए । भूकम्पपछि हरेक वर्षायाममा यहाँका बासिन्दा त्रासपूर्ण अवस्थामा बस्दै आएका छन् ।
उक्त क्षेत्रको जोखिम न्यूनीकरणका लागि जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बोलाएर आवश्यक निर्णय गरिने गाउँपालिकाका अध्यक्ष आचार्यले जानकारी दिए ।
पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...

